इन्डियन प्रिमियर लिग

चेन्नईले हैदराबादलाई हरायो

काठमाडौं । कप्तान ऋतुराज गैकवाडको उत्कृष्ट प्रदर्शनप्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई ७८ रनले पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेट गुमाउए दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा हैदराबाद १८.५ ओभरमा अल आउट हुँदा मात्र एक सय ३४ रन बनाउन सक्यो ।

जितपछि चेन्नईले शीर्ष चार सम्भावना कायम राखेको छ । ९ खेबलाट १० अंक जोडेर तेस्रो स्थानमा छ । हैदराबादको पनि समान खेलबाट समान अंक रहँदा चौथो स्थानमा छ । १६ अंकसहित राजस्थान रोयल्र्स शीर्ष स्थानमा छ ।

आइपिएलको ४६औं खेलमा हैदराबादको ब्याटिङ चल्न सकेन । ऐडन मारक्रमले २६ बलमा सर्वाधिक ३२ रन बनाएका हुन् । यसअघि आक्रामक रुपमा प्रस्तुत हुने ट्राभिस हेड पनि १३ रन बनाएर आउट भए । अर्का ओपभरन अभिषेक शर्मा १५ रन बनाएर पेभिलियन फर्किएका हुन् । हेनरिक क्लासेजले २०, अब्दुल समादले १९ र नितिश कुमार रेडीले १५ रन बनाएका हुन् । हैदरावादको इनिङ्समा मारक्रम र नितिशकुमारले सर्वाधिक ३२ रनको साझेदारी गरेका थिए । क्लासेन र अब्दुलले पनि ३२ रनकै साझेदारी गरेका हुन् ।

चेन्नईका टुसार देशपान्डेले तीन ओभरमा सर्वाधिक चार विकेट हात पारे । मुस्तफिजुर रहमान र माथिशा पाथिरानाको नाममा समान दुई विकेट रह्यो ।

यसअघि घरेलु मैदानमा टस हारेको चेन्नइको लागि कप्तान ऋतुराजले ५४ बलमा ९८ रन बनाएका हुन् । उनले दश चौका र तीन छक्का प्रहार गरेका हुन् । ड्यारी मिचेलले ५२ रनको योगदान गरे । शिभम दुबेले ३९ रन जोडे ।

दोस्रो विकेटको लागि ऋतुराज र मिचेलबीच ६४ बलमा १०७ रनको साझेदारी भएको थियो । ऋतुराज र दुबेबीच ७४ रनको दोस्रो ठूलो साझेदारी भएको हो ।