अन्तर पालिका खुल्ला मेयर कप

मेयर कप फुटबलः मध्यपुर थिमि क्वार्टरफाइनलमा

ललितपुर ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको  क्वार्टरफाइनल प्रवेश गरेको छ ।  

गोदावरी नगरपालिका वडा नं १० स्थित झ्यालुन्टार खेल मैदानमा सोमबार मध्यपुरले काठमाडौंको टोखा नगरपालिकालाई ४-० ले पराजित गर्यो ।

मध्यपुरलाई जित दिलाउन रोहन खड्गीले ह्याट्रिक पूरा गर्दा  एक गोल कप्तान यमन राजबाहकको नाममा रह्यो ।

रोहनले खेलको ३८, ४१ औं मिनेट तथा इन्जुरी समयमा गोल गरे । त्यसअघि २९औं मिनेटमा यमनको गोलमार्फत मध्यपुरले अग्रता लियो ।

मध्यपुरले तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलको विजतेतासँग शनिबार सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

तारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन, चन्द्रागिरी, महालक्ष्मी, र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनल पुगिसकेका छन् ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टोलीले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने छन् । यस्तै अनुशासित टोलीलाई ५० हजार तथा  सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, रक्षक, फरवार्ड र  प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।