वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट

लुम्बिनी च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेश वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो ।

लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले २८, विपिन रावलले २३ र दीपेन्द्र रावतले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि अभिषेक गौतमा ३.३ ओभरमा मात्र १० रन खर्चिदै पाँच विकेट लिए । यसैगरी नर सार्कीले दुई तथा कप्तान देव खनाल र निर्मल गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्यो । लुम्बिनीका लागि मृर्नाल गुरुङले २७, विराट भण्डारीले २६ र कृष्ण कार्की २२ रन बनाए ।

कर्णालीका लागि युनिस ठकुरीले तीन, दीनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई तथा प्रकाश जैसीले एक विकेट लिए ।

प्रतियोगितामा सात प्रदेशको सहभागिता थियो  ।  लिग चरणबाट लुम्बिनी शीर्ष र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।