बास्केटबल

बास्केटबल टिमले जित्यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक

काठमाडौं । नेपाली राष्ट्रिय थ्री अन थ्री बास्केटबल टिमले चीनको युनानमा भएको एक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

युनान प्रान्तको खेलकुद ब्यूरोद्धारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभलमा नेपाली टोलीले सोमबार स्वर्ण पदक जितेको नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले खेलाडी डटकमलाई जानकारी गराएका छन् ।

गुरुङका अनुसार ३९ टोली सहभागी प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरि ३२ टोलीले भाग लिएका थिए ।

प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय टिममा नेपाल, माल्दिभ्स, लाओस, भियतनाम, थाइल्यान्ड, म्यानमार र क्याम्बोडिया थिए ।

नेपालले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ थिए ।

नेपालका मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ सर्वोत्कृष्ट प्रशिक्षक चुनिएको संघका अध्यक्ष गुरुङले जानकारी गराए । शुक्रबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो । मंगलबार पुरस्कार वितरण समारोह हुने बताइएको छ ।