सहिद स्मारक ‘सी’ डिभिजन लिग

खालीबारीको पहिलो जित

काठमाडौं । खालीबारी युवा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । खालीबारीले सोमबार गोलबाजार स्पोर्टस क्लबविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै पाँच खेलमा पाँच अंक जोडेको खालीबारी नवौं स्थानमा उक्लिएको छ । पराजित गोलबजार समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार खालीबारीलाई जित दिलाउन अुनज थापा, उज्वल शाही र सन्देश चौधरीले गोल गरे । गोलबजारका लागि विनु आलेमगरले गोल फर्काए ।

खेलको आठौं मिनेटमा अनुजको गोलमार्फत खालीबारीले अग्रता लिएको थियो । २८औं मिनेटमा उज्वलले टोलीको अग्रता दोब्बर बनाए ।

उज्वलले इनडाइरेक्ट फ्रिकिकमा गोल गरे । आफ्नै खेलाडीले दिएको ब्याक पासलाई गोलबजारका गोलपिकर उद्धवकुमार थापामगरले हातले समातेपछि खालीबारीले इनडाइरेक्ट फ्रिकिकको अवसर प्राप्त गरेको थियो ।

सन्देशले ३१औं मिनेटमाखालीबारीका लागि तेस्रो गोल गरे । उनले सागर तामाङको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा विनुले फ्रिकिकमार्फत गरेको उत्कृष्ट गोल गोलबजारका लागि सान्त्वनामै सिमित बन्यो ।

सोमबार नै सम्पन्न पहिलो खेलमा मनोहरा युनाइटेडले सानेपाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।