नेपाल तेक्वान्दो संघ

पलेसा र कविराज सम्मानित

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघको आठौं वार्षिक साधारणसभाका अवसरमा शनिबार पलेशालाई ५० हजार र कविराजलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।

उनीहरूलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए ।

चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेशा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् ।

गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक छन् ।

यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित भए । उनलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरियो ।

यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।

यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई  २५ हजार रुपैयाँसहित सम्मान गरियो ।

यसैगरी एनटिए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो । संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघ प्रसंशापत्रबाट सम्मानित भए ।