मिल्स गोल्डकप

विराटनगर सेमिफाइनलमा

विराटनगर ।  फियर फुटबल क्लब धरान सुनसरीलाई २-० हराउँदै मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा पेमा युवा क्लब विराटनगर सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगर जुट मिलको खेलमैदनमा शनिबार विराटनगरलाई जित दिलाउन दुवै गोल विजु भुजेलले गरे ।

खेलको ५५औं मिनेटमा बिजुको गोलमार्फत विराटनगरले अग्रता लिएको थियो । धरानका गोलकिपर प्रभात राई अगाडी बढेको मौकामा विराटनगरका बिजुले ३० यार्डबाट गरेको प्रहारले जाली चुम्यो ।

सात मिनेटपछि व्यतिगत दोस्रो गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए । कमल खवासले कर्नर साइटबाट निकालेको पासलाई बिजुले गोलमा परिणत गरे ।

विराटनगरले फाइनल प्रवेशका लागि कोशी प्रदेश प्रहरी कार्यालय, रानी र गोलबजार स्पोर्टिङ क्लब, सिरहाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार टिडब्ल्यु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापा भिड्नेछन् ।