आइटिएफ तेक्वान्दो

आइटिएफ तेक्वान्दोः सुवास र निकिता च्याम्पियन

पदक विजेता

बागलुङ । मधेश प्रदेशका सुवास तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न  प्रतियोगितामा सुवास पुरुष तथा निकिता महिलातर्फ च्याम्पियन भए ।

उपाधिसँगै दुवैले ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे । बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए । श्रीप्रसादले ३० हजार रुपैयाँ प्राप्त गरे ।

अर्मीका अनिल तामाङ बागमतीका रिकसान वाइबा तामाङ हराउँदै तेस्रो स्थानमा रहे । उनले २० हजार रुपैयाँ पाए ।

महिलातर्फको फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । सजिनाले नगद ३० हजार रुपैयाँ पाइन् ।

महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै २० हजार रुपैयाँ प्राप्त गरिन् । उनले  त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन् ।

महिलातर्फ ५०-५७ तथा पुरुष ५५-६२ तौल समूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजक गरी समान २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेतालाई ढोरपाटन नगरपालिकाका कार्यवहाक नगर प्रमुख कल्याण कायत, नेपाल आइटिएफ तेक्वान्दो महासघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, महासचिव घमबहादुर थापामगर र आयोजक संघ अध्यक्ष एवम् गण्डकी प्रदेश तेक्वान्दो संघकासचिव प्रतीक घर्तिमगरलगायतले पुरस्कृत गरेका थिए ।

प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो ।