जयकुमार नाथ शाह मेमोरियल यु-१६ क्रिकेट

जयकुमार नाथ शाह मेमोरियल यु-१६ क्रिकेट बैशाख तेस्रो साता हुने

काठमाडौं । आगामी वैशाख १९ गतेदेखि काठमाडौं जिल्ला क्रिकट संघको आयोजनामा जयकुमार नाथ शाह मेमोरियल यु-१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जनाकारी गरायो । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले, प्राविधिक प्रमूख रविन्द्र गुप्ता, सचिव किरण सम्शेर जवरा लगायतको उपस्थित थियो ।

नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

आयोजक संघका अध्यक्ष घलले ग्रासरुटदेखि नै क्रिकेटको विकास गर्ने अभियानस्वरुप यो प्रतियोगिता आयोजना गर्न लागेको बताए । यसैगरी घलेले प्रतियोगितामा सहभागिताका लागि २५ हजार दर्ता शुल्क तोकिएको र पहिला आउने टोलीलाई प्राथमिकता दिइएको जनाकारी गराए ।

वैशाख ३० सम्म हुने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभाग टिमलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल छन्।

यसैगरी समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्ट्स एकेडेमी स्कुल तथा समूह ‘डी’मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेसल एकेडेमी र एलआरआइ स्कुल  छन् ।

समूह चरणमा हरेक दिन चार खेल हुनेछन् । बिहान ९ः १५ मा सुरु हुने खेलमा रेडियन्ट रिडर्स एकेडेमी र संस्कृति इन्टरनेसनल स्कुल तथा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी,छन् ।

सोहि दिन दिउँसो १ः१५ मा सुरु हुने खेलमा सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल तथा आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल आमने सामने हुनेछन् ।

कुल २७ खेल हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र  उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

मुलपानीको तल्लो र माथिल्लो मैदानमा हुने प्रतियोगितको प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई १ हजार रुपैयाँ तथा उपहार दिइनेछ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल गरी तीन खेलको प्रत्यक्ष प्रसारण काष्ठमन्डप टेलिभिजनबाट हुनेछ ।  यो प्रसारण गर्ने जिम्मेवारी एसियन इ लर्निङ प्राप्त गरेको आयोजले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा जयकुमार नाथ शाहको परिवार रहनुहुनेछ। यस्तै सहप्रायोजक आयुप इन्टरनेसनल ओभरसिज सर्भिज रहेको छ।

प्रतियोगितालाई फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सी, पठाओ, टिम-११, सर्कल टेक प्रालि, कान्तिपुर होलिडेज प्रालि, राष्ट्रिय वाणिज्य बैंक, एन्डिज मोर्डन फुड, द पेभिलियन स्टोर, नेक्सस एजुकेसन कन्सल्टेन्सी, कृषि विकास बैंक, नेपमेड्स प्रालिनेवा वेभरेज प्रालिले सहयोग गरेका छन् ।

प्रतियोगिता सञ्चालका लागि १५ लाख २६ हजार ५०० रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।