सहिद स्मारक ‘सी’ डिभिजन लिग

विना कारण खेलबाट बञ्चित गराइएको भन्दै सुमन र बविनको खेलाडी संघमा उजुरी

काठमाडौं । आफूहरुलाई विना कारण खेल्नबाट बञ्चित  गराइएको भन्दै सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीमा आवद्ध खेलाडीद्धोय सुमनबहादुर मगर र बविन बोहराले अखिल नेपाल फुटबल खेलाडी संघमा उजुरी दर्ता गराएका छन् ।

‘बी’ डिभिजन लिगका झापा फुटबल क्लबका सुमन मगर र श्री भगवती क्लबका बविन बोहरालाई खेलाएको भन्दै ९ क्लबले आरसी ३२ माथि कार्वाही गर्न भनेर प्रोटेस्ट हालेका थिए ।

उनीहले एन्फाले आफ्नो माग सुनुवाइ नगरेको भन्दै बैशाख १४ गतेलाई तोकिएको सामाजिक युवा र स्वयम्भू क्लबबीचको खेल अबरुद्ध गरेका थिए ।  आरसी ३२ लाई कार्वाही गर्ने एन्फासँगको मौखिक सहमतिपछि करिब एक घण्टा ढिलो गरी खेल सुरु भएको थियो ।

आरसी ३२ विरुद्ध सामाजिक युवा, स्वयम्भु, पुल्चोक, मनोहरा युनाइटेड, समाज कल्याण, महावीर, झम्सिखेल, खालीबारी र  गोलबजारले प्रोटेस्ट हारेका थिए ।

क्लबहरुको विरोधपछि बविन र सुमनले सोही दिन भएको समाज कल्याण खेलकुद केन्द्रविरुद्धको खेल खेल्न पाएका थिएनन् । 

एन्फाबाट लिखित रूपमा कुनै जानकारी नआएको र खेलाडीलाई कुनै जानकारी नै नदिइ मौखिक सहमतिका भरमा खेलबाट बञ्चित गराइनु खेदपूर्ण रहेको उनीहरुको भनाइ छ । उनीहरुले संघसमक्ष न्यायका लागि अनुरोध गरेका छन् ।

आरसी ३२ पाँच खेलको समाप्तीमा ११ अंकका साथ दोस्रो स्थानमा छ ।