फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता

फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने

काठमाडौं । राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको चौथो संस्करण आगामी बैशाख २ हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सह(आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आइओएफटिसी) को सहयोगमा  यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरबाट ६००भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष महिलामा समान ६ गरी कुल १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनिय तर्फ पुरुष र महिलामा समान १० गरी २० स्पर्धामा भिडन्त हुनेछन्।

यसैगरी पुम्सेको व्यक्तिगत, समुहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ।  क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सिओलमा हुने इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो ।

यस प्रतियोगिताबाट व्यक्तिगत पुम्सेबाट समान एक पुरुष महिला तथा गेरोगीको सिनियर स्पर्धाबाट समान दुई पुरुष र महिला खेलाडी उक्त प्रतियोगितमा छनोट गरिनेछ ।

सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । समान दुई पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्। छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।

प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।