उज्ज्वल वाग्ले

उज्ज्वल सम्मानित

काठमाडौं । नैकापस्थित ब्राइट फ्युचर स्कुलले मेक्सिको मजात्लानमा भएको आइएसएफ वर्ल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिप दोहोरो पदक जित्न सफल उज्ज्वल वाग्लेलाई सोमबार सम्मान गरेको छ ।

प्रतियोगिता अन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् । 

जुन १८ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा उज्ज्वलले यु-१८ उमेरसमूहको गेरोगीतर्फ पुरुष ७३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । ब्राइट फ्युचरमा कक्षा १० मा अध्ययरत उज्ज्वलको यो नै ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्की, चन्द्रागिरी नगरपालिका वडा ४ का अध्यक्ष घनश्याम लुइटेललगायतले उज्ज्वललाई एक कार्यक्रमबीच टीका र खादा लगाएर सम्मान गरे ।

उपाध्यक्ष कोइरालाले उज्ज्वललाई सफलताका लागि बधाई दिदै ब्राइट फ्युचरले विभिन्न खेलमा प्रतिभावन खेलाडी उत्पादनमा विशेष योगदान गरेको धारणा व्यक्त गरे ।

प्रिन्सिपल थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर स्कुलको मान सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएकोमा उज्ज्वललाई धन्यवादसंगै बधाई दिदै उज्ज्वलले स्कुलको मात्र नभई मुलुकको गौरव समेत बढेको बताए ।