युरोपियन च्याम्पियन्स लिग

डर्टमन्डको सामना गर्दै पिएसजी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन( पिएसजी) ले मंगलबार घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्दैछ ।

खेल पार्क डेस प्रिन्सेसमा नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

पिएसजीले जित निकालेकाे खण्डमा मात्र फाइनलमा स्थान बनाउने छ । पहिलो लेगमा डर्टमन्ड १-० ले विजयी भएको थियो ।

पिएसजी केलियन एमबाप्पे, ओस्मने डेम्बेले, मार्किन्होस, जियानलुइजी डोनारुम्मा जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । रक्षक लुकास हर्नान्डेज भने आजको खेलमा उपलब्ध हुने छैनन् । उनी पहिलो लेगका दौरान घाइते भएका थिए ।

हालसम्म उपाधि जित्न नसकेको पिएसजीले सन् २०१९\२० को सिजनमा फाइनल खेलेको थियो । उक्त खेलमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।

यसैगरी डर्टमन्डलाई निकोल फुलक्रग, म्याट ह्युमेल्स, जाडन सान्चो, मार्सेल साबिट्जर जस्ता खेलाडीको साथ रहनेछ ।

सन् १९९६/९७ को च्याम्पियन डर्टमन्ड २०१२/१३ पछि पहिलो पटक फाइनल गुग्ने लक्ष्यमा छ । पछिल्लो फाइनलमा डर्टमन्डलाई जर्मनकै बायर्न म्युनिखले २-१ ले पराजित गरेको थियो।

च्याम्पियन्स लिगमा हालसम्म यी दुईबीच तीन खेल हुँदा डर्टमन्ड दुई र पिएसजी एक खेलमा विजयी भएका छन् ।