प्रवास

श्रेष्ठलाई एसियन क्यानेडियन अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानाडा भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसिसी)का पूर्व अध्यक्ष किरोज श्रेष्ठ सोमबार टोरोन्टोमा सम्मानित भएका छन् ।

क्यानाडाको नेपाली समुदायमा गरेको योगदानको कदरस्वरुप त्यहाँको बहुसांस्कृतिक परिषदले एनआरएनए क्यानाडाको उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई उत्कृष्ट एसियन क्यानेडियन अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।

श्रेष्ठले एनआरएनए क्यानडाको उपाध्यक्षको रूपमा नवआगन्तुक र अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूले सामना गर्ने विभिन्न समस्याहरू समाधान गर्न भूमिका खेलेको, चितवन सोसाइटी क्यानाडाको कोषाध्यक्षको हैसियतमा कोभीड महामारीको समयमा नेपाललाई चिकित्सा र आर्थिक सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गरेको लगायतका आधारमा सम्मान प्रदान गरिएको बताइएको छ ।

सन् २०१९ देखि २०२३ सम्म अध्यक्षको हैसियतमा एनसिसिसीको नेतृत्व गर्दा उनले नेपाली राष्ट्रिय क्रिकेट टोली र क्यानाडाको राष्ट्रिय टोलीबीच क्यानाडामै शृंखला आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आप्रवासीहरुबीच प्रतिष्ठित मानिने अवार्ड जितेपछि श्रेष्ठले आफूलाई अवार्डका लागि मनोनयन गरेकोमा नेपाली समुदाय र क्यानेडियन बहुसांस्कृतिक परिषद्प्रति आभार व्यक्त गरे । सम्मानले आगामी दिनमा थप रचनात्मक भएर प्रभावकारी रुपमा समाजका लागि काम गर्ने जिम्मेवारी थपिएको बताए । 

क्यानाडा र नेपालको खेलकुदलाई जोड्न एनआरएन अभियानमार्फत पुलको भूमिका निर्वाह गर्ने योजना रहेको श्रेष्ठले सुनाए । 


उनले भने, ‘हामी विदेशमा बस्नेले सबभन्दा धेरै राष्ट्रलाई मिस गरिरहेका हुन्छौं । तर पनि यहाँ बसेर हामीले खेलकुद र समाजका अन्य क्षेत्रमा सहयोग गर्न सक्छौं । तत्कलका लागि एनआरएनए क्यानाडामार्फत हामीले नेपालको खेलकुदलाई क्यानाडाको प्रविधि र विकासयुक्त खेलकुदसँग जोड्ने सोच बनाएका छौं । विगतमा झै खेलकुदीय आदानप्रदानका कार्यक्रमहरु आयोजना गरेर वा सोझै नेपाली खेलाडीलाई सहयोग जुटाएर अथवा यहाँको प्रविधि नेपाल भित्र्याउने वातावरण बनाएर हामी केही गर्न चाहन्छौं ।’