मैत्रीपूर्ण खेल

इङ्ल्यान्ड ‘सी’ सँग नेपालको हार

तस्बिर सौजन्यः मिलन तमु/लन्डन

काठमाडौं ।  इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल सोमबार २-० ले पराजित भएको छ । अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा इङ्ल्यान्ड ‘सी’ लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे ।

खेलको आठौं मिनेटमा निक काबाम्बाको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । उनले ओली हारफिल्डको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।  ।

पाँच मिनेटपछि नै नेपालले दोस्रो गोल बेहोर्यो । नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले कर्नरबाट आएको बललाई पन्च गर्दै क्लियर गर्ने प्रयास गर्दा प्राप्त बललाई स्टेडले जाली चुमाए ।

खेल हेर्न उपस्थित नेपाली समर्थकहरु । तस्बिर सौजन्यः मिलन तमु/लन्डन

नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

नेपालले यसअघि शुक्रबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरुप नेपाली टोली बेलायत पुगेको हो ।

नेपालले जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युएईको सामना गर्ने तालिका छ । यसअघिका चारै खेल गुमाएको नेपाल विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ । युएईपछि नेपालले जेठ २९ गते यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । यमनविरुद्धको खेल अहमद बिन अली रंगशालामा हुनेछ ।