इङ्लिस प्रिमियर लिग

युनाइटेटको फराकिलो हार

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा सोमबार घरेलु टोली क्रिस्टल प्यालेससँग ४-० को फराकिलो हार ब्यहोरेको छ ।

सेल्हस्ट पार्कमा क्रिस्टललाई जित दिलाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिचेलले समान एक गोल गरे ।

जितसँगै ३६ खेलमा ४३ अंक जोडेको क्रिस्टल १४औं स्थानमा छ । पराजित युनाइटेड ३५ खेलबाट ५४ अंकका साथ आठौं स्थानमा छ ।

क्रिस्टलले यो सिजन प्रिमियर लिगका दुवै खेलमा युनाइटेडलाई हरायो । यसअघि क्रिस्टलले १-० को जित निकालेको थियो ।

खेलको १२औं मिनेटमा ओलिसेको गोलमार्फत क्रिस्टलले अग्रता लियो । उनले ड्यानियल मुनोजको पासलाई सदुपयोग गरे ।

माटेटाले ४०औं मिनेटमा क्रिस रिचार्डसको पासलाई पोस्टको दिशा दिँदै टोलीको अग्रता दोब्बर बनाए । मिचेलले ५८औं मिनेटमा क्रिस्टलका लागि तेस्रो गोल गरे । उनले एडम ब्हार्टको क्रसलाई जाली चुमाए ।

ओलिसेले ६६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ४-० को फराकिलो जित दिलाए । यस पटक पनि मुनोजले नै गोलको अवसर सिर्जना गरेका थिए ।