इन्डियन प्रिमियर लिग

सूर्यकुमारको शतकमा मुम्बईले हदराबादलाई हरायो

काठमाडौं । सूर्यकुमार यादवको शतकप्रेरित घरेलु टोली मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको जित निकालेको छ ।  

जितसँगै १२ खेलमा आठ अंक जोडेको मुम्बई नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ ।

वान्खडे क्रिकेट रंगशालामा हैदराबादले प्रस्तुत गरेको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईका लागि सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्काको मद्दतले अविजित १०२ रन बनाए । यसैगरी तिलक बर्माले अविजित ३७ रन बनाए ।

चौथो  विकेटका लागि सूर्यकुमार र तिलकले अविजित १४३ रनको साझेदारी गरे । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो । 

हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यसैगरी प्याट कमिन्सले अविजित ३५, नितिश रेड्डीले २०, मार्को यानसनले १७, अभिषेक शर्माले ११ र शहबाज अहमदले १० रन बनाए ।

पहिलो विकेटका लागि ट्राभिस र अभिषेकले ५६ रनको साझेदारी गरे । मुम्बईका लागि कप्तान हार्दिक पन्ड्य र पियुष चावलाले समान तीन तथ अंशुल कम्बोज र जसप्रित बुमराहले समान एक विकेट लिए ।