जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

एन्जल हार्ट अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं ।  एन्जल हार्ट स्कुल जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनल पुगेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा मंगलबार एन्जल हार्टले केएमसी स्कुललाई चार विकेटले पराजित गर्यो ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको एन्जल हार्ट समूह ‘सी’ को शीर्ष स्थानमा रह्यो ।  पराजित केएमसीले समा खेलबाट दुई अंक जोड्यो ।

केएमसीले प्रस्तुत गरेको १६२ रनको लक्ष्य एन्जल हार्टले तीन बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो । एन्जल हार्टका लागि युवराज खत्रीले ४९, जोय थापाले ३६ र प्रयुश उप्रेदीले २८ रन बनाए ।

केएमसीका लागि प्रश्रव नेपालले दुई र स्मिथ यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केएमसीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रनको योगफल तयार पारेको थियो ।

केएमसीका लागि अभिषेक शाहले ५६ बलमा सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी अपिल शर्माले २२ र साइमन बन्जाराले १८ रन बनाए ।

एन्जल हार्टका लागि सन्दीप साउदले तीन र युवराज खत्रीले दुई विकेट लिए ।