कर्पोरेट सुपर सिक्सेस क्रिकेट

कर्पोरेट सुपर सिक्सेसः क्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं । कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सातौं संस्करणको क्वार्टरफाइन समिकरण पूरा भएको छ ।

एसएस इभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार हुनेछन् ।

क्वार्टरफाइनलमा माछापुच्छ्रेले सिप्रदी, आइसिएफसीले एनआइसी एसिया, एनसेल लिजेन्ड्सले राष्ट्रिय वाणिज्य बैंक र सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछन् ।    

 समूह ‘ए’ को माछापुच्छ्रे सोमबार क्लाउड फ्याक्ट्रिलाई एक रन र एनआइसी एसिया बैंकलाई एक विकेटलाई हराउँदै समूह विजेता बन्यो ।

हारका बाबजुद एनआइसी समूह उपविजेताका रूपमाअघि बढ्यो । एनआइसी एसियाले आइतबार नै दुई जित निकालेको थियो ।

समूह ‘बी’ बाट आइसिएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलको यात्रा तय गरे । समूह विजेताआइसिएफसी फाइनान्सले सोमबार जगदम्बा ग्रुपलाई पाँच रन र सिप्रदीलाई १२ रनले हरायो ।

सिप्रदीले जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले पराजित गर्यो।

समूह ‘सी’ को  एनसेल लिजेन्ड्स सोमबार सूर्य नेपाललाई पाँच विकेट र नेपाल बैंकलाई २३ रनले हराउँदै समूह विजेता भयो ।

समूह  ‘सी’ मा सूर्य नेपाल, आइएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले । तर नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो । सूर्य नेपालले सोमबार आइएमई ग्रुपमाथि ११ रनको जित निकालेको थियो ।

समूह ‘डी’ मा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए । सुबिसु दुई खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्यो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि तीन विकेटको जित निकाल्यो ।

यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक उपविजेताका रूपमा अगाडि बढ्यो । वाणिज्य बैंकले एनसेल इलाट्समाथि १३ रनको जित निकाल्यो ।

सोमबार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई चार रन, समूह ‘सी’ को आइएमइले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रिममाथि ३० रनको जित निकाले । तीनै टोलीका लागि यो जित सान्त्वना मात्र बन्यो ।