सूर्य नेपाल गल्फ टुर

शुक्रले गरे सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

धरान । नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् ।

अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरमा अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन्।

शुक्रको यो करियरको १० औं प्रमुख उपाधि हो।  योसँगै शुक्रले भेट्रान प्रो दीपक थापामगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन्। उनले उपाधिसँगै नगद १ लाख ४० हजार रुपैयाँ  प्राप्त गरे।  

अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन्। ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २-ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा   सूर्य नेपाल गल्फ टुर सकाए। उनले ९६ हजार रुपैयाँ हात पारे।

पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३-ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १-ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार रुपैयाँ प्राप्त गरे।

समग्रमा ७-ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। राजेन र भुवनले आज ३-ओभर ७३ मा खेल सकाउँदा रामेले १-ओभर ७१ खेले। उनीहरूले जनही ५० हजार ५ सय रुपैयाँ आफ्नो नाममा लेखाए।

समग्रमा ९-ओभर २ सय १९ को स्कोरमा रबि खड्का सातौं हुदै ३९ हजार नगद हात पारे। उनले आज ५-ओभर ७५ मा खेल सकाए। समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्यप्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए। उनीहरूले जनही ३४ हजार २ सय ५०  रुपैयाँ प्राप्त गरे।

देउराज पाख्रिनले समग्रमा ११-ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे। आज उनले ३-ओभर ७३ मा खेल पुरा गरे।

अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन्।

शुक्रले सानदार सुरूवात गरे। तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले। ११औं होलमा एक सट बचाउँदा १३ औं, १४ औं र १६ औं होलमा बोगी खेपे। ब्याक नाइन २-ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने।

नीरजले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक–एक सट बचाए। तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४-ओभर ३८ को प्रदर्शन गरे। १० औं,१४ औं र १७ औं होलमा बोगी र ४-पारको १५  औं  होलमा डबल बोगीको सामना गरे। अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे।

भुवनले ५-पारको छैटौं होलमा डबल बोगी प्रहार गरे। तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे। ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३  औं , १४ औं र १७ औं होलमा एक/एक सट खेर फाले। १ ८ औं होलमा बर्डी सहित ब्याक नाइन २-ओभर ३६ मा सकाए।

एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८-ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए। आज गजेन्द्रले ३-ओभर ७३ र युवराजले ६-ओभर ७६ को स्कोर गरे। 

समग्रमा ११-ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। सुमनले आज इभन-पार ७० मा खेल सकाउँदा सुन्दरले ५-ओभर ७५ मा खेल पुरा गरे।

 प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता  थियो।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ्ग म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।