स्पेनिस ला लिगा

लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई ४–२ ले हराएको छ । सोमबार राति १० खेलाडीमा सिमित भ्यालेन्सियाविरुद्ध लेवान्डोस्कीले सिजनकै पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।

क्याटलान क्लबको जितमा लेवान्डोस्कीले तीन गोल गरे भने फर्मिन लोपेजले एक गोल गरेका हुन् ।

जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले ३३ खेलबाट ७३ अंक जोडेको छ । ११ अंकले अघि रहेको रियाल मड्रिड ८४ अंकसहित शीर्ष स्थानमा छ । पराजित भ्यालेन्सिया ४७ अंकसहित आठौं स्थानमा छ ।

घरेलु मैदानमा दश हजार समर्थकमाझ बार्सिलोनाका लोपेजले २२औं मिनेटमा अग्रता बनाएका थिए । चार मिनेटपछि नै हुगो डुरोले गोलकिपर टेर स्टर्लिङको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरेका हुन् ।

बक्सभित्र फाउल गरेपनि पाएको पेनाल्टीमा पेपेलुले ३८औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई २–१ ले अग्रता दिलाएका हुन् ।

बार्सिलोनाका खेलाडीलाई पहिलो हाफको इन्जुरी समयमा बक्सभित्र फाउल गरेपछि गोलकिपर जोर्जी ममार्दाशभिलीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा लेवान्डोस्कीले तीन गोल गरेका हुन् । ४९औं मिनेटमा इल्काय गुन्डोगानको पासमा २–२ को बराबरी गोल गरे । रोनाल्ड अरौजोको पासमा ८२औं मिनेटमा हेडर गोल गरेका हुन् । इन्जुरी समयमा फ्रिकिकमार्फत गोल गर्दै ४–२ को सहज जित दिलाए ।