नखिपोट बास्केटबल प्रतियोगिता

नखिपोट बास्केटबलः कीर्तिपुर ‘ए’ सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । अत्तिरिक्त समयमा जित निकाल्दै कीर्तिपुर ‘ए’ दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर ‘ए’ ले शनिबार गोल्डेनगेटलाई १०७-१०२ ले पराजित गरेको हो। कीर्तिपुर ‘ए’ का जयदीपले ३७ स्कोर गरे । निर्धारित समयको खेल ९३-९३ को बराबरीमा सकिएको थियो । अत्तिरिक्त समयमा कीर्तिपुर ‘ए’ ले १४-९ को अग्रता बनाउदै जित सुनिश्चित गर्यो ।

नखिपोट युथ क्लबद्धारा आयोजित प्रतियोगितामा नेपाल आर्मी र टाइम्स बास्केटबल क्लब पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

आर्मीले हाउन्ड्सलाई ९४-७२ ले हरायो । आर्मीका निकेश मगरले १५ अंक जोडे । आर्मीले सुरुका ३ क्वार्टर २०-११, ३४-१४ र २४-२३ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा हाउन्ड्स २४–१६ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।

टाइम्सले बौद्ध ‘ए’ लाई ११९-९७ ले स्तब्ध बनायो । टाइम्सका लागि मोविन्द्र भण्डारीले २९ अंक बटुले । चारवटै क्वार्टर आफ्नो पक्षमा पारेको टाइम्सले ३०-२७, ३१-२७, २७-२६, ३१-१७ को नतिजा निकाल्यो ।