नेपाल सुपर लिग

नेपाल सुपर लिगः बराबरीमा रोकिए चितवन र इलाम

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शनिबार एफसी चितवन र स्पोर्टिङ इलाम एफसी डी मेचीले गोरहित बराबरीमा रोकिएका छन्  ।

यो नतिजासँगै चितवन ७ खेलमा ६ अंकका साथ सातौं स्थानमा छ । इलाम समान खेलबाट ५ अंकका साथ पुछारमा छ । दुवै टोलीको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । ६१ औं मिनेटमा चितवनका रफिक अमिनुले गोल गरेपनि त्यसअघि छिरिङ गुरुङले बक्स भित्र गरेको फाउलका कारण त्यसले मान्यता पाएन ।

अर्को मिनेटमा गोलकिपर विशाल श्रेष्ठले राम्रो बचाउ गर्दै इलामलाई चितवनको संकट टारे । अमथ एनडवको क्रसमा फोडे कमाराको हेडर विशालले डाइभ गर्दै बचाएका थिए ।

७७ औं मिनेटमा चितवनका रफिक अमिनुको क्रसमा विमल घर्ती मगरले बक्स भित्रबाट गरेको प्रहार बाहिरियो । ४ मिनेटपछि नवीन लामाको क्रसमा दीपेश आलेको हेडरले पोस्टको दिशा लिन नसक्दा इलामले अग्रता लिने अवसर गुमायो ।

८५ औं मिनेटमा विमलको फ्रिकिकलाई इलामका गोलकिपर समित श्रेष्ठले पञ्च गर्दै बचाए । इन्जुरी समयमा एनडव दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इलाम १० खेलाडीमा सिमित बनेको छ ।