भद्रकाली कप

भद्रकाली कपः भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले मंगलबार इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२-२२ ले पराजित  गरेको हो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८-२५ ले हरायो ।

सिनियर ब्वाइजमै एन्जल्स हार्ट, सेब र नेपाल मोडल क्वाटरफाइनलमा पुगे । एन्जल्स हार्टले नेसनल युनाइटेडलाई २८-१७, सेबले बागमतीलाई ३८-२८ र नेपाल मोडलले टिआइएलाई २६-१४ ले पाखा लगाए । एन्जल्स हार्टका दिलेन्द्र छन्त्यालले १८, सेबका राजन विकले १५ र नेपाल मोडलका निरञ्जन पाण्डेले सात स्कोर गरे ।

हात्तीगौडास्थित भद्रकाली स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा बसुन्धारा नेसनल एकेडेमी (बिएनए) र भ्याली पब्लिकले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

बिएनएले ग्रिनल्यान्डमाथि २६-१३ को जित दर्ता गरेको हो । भ्याली पब्लिकले इबिएलाई २०-१७ ले पन्छायो । भ्याली पब्लिकका विशाल परियारले १४ अंक जोडे ।