एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डः उत्कृष्ट युवा खेलाडीमा महिला हाबी

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि  शुक्रबार उत्कृष्ट वर्ष युवा खेलाडीको शीर्ष तीन सार्वजनिक गरेको छ ।

यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन छानिएका हुन् । उत्कृष्ट युवा खेलाडीको शीर्ष तीनमा दुई महिला र एक पुरुष छन् ।

शीर्ष तीनमा वक्सिङकी सुष्मा तामाङ, क्रिकेटका देव खनाल र एथलेटिक्सकी राममाया बुढा छन् ।

उत्कृष्ट आठको मनोनयनमा फुटबलका युनेश बुढाथोकी, क्रिकेटका दीपेश कँडेल, गल्फका सद्भाव आचार्य, बक्सिङका विजय बाटा र फुटबलकी सुजाता तामाङ पनि थिए ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ ।

उत्कृष्ट युवा खेलाडी

सुष्मा तामाङ (बक्सिङ)

एएसबीसी यु-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत जितेकी सुष्समा गत वर्ष निकै चर्चा कमाइन् । यो  बक्सिङबाट नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक हो ।

फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित भएकी थिइन्  । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जितहात पारेकी थिइन् ।

उनी एएसबीसी यु-२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी थिइन् ।  

नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वागामती प्रदेशका लागि स्वर्ण जितेकी सुष्माले भारतमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि सभागागिता जनाएकी थिइन् ।

देव खनाल (क्रिकेट)

नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु-१९ विश्वकप क्रिकेट खेलको थियो । देवको कप्तानमा रहेको उक्त टोलीले विश्वकप छनोटको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

देवले विश्वकप छनोट प्रतियोगितमा पाँचमध्ये तीन खेलमा ब्याटिङ गर्दै ६५ माथिको औसतमा १९७ रन बनाएका थिए । उनले कुवेविरुद्ध लिग चरणमा ११५ र फाइनलमा युएईविरुद्ध ५१ रनको योगदान गरेका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोतामा उपविजेता बनेको थियो ।

राममाया बुढा(एथलेटिक्स)

१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा  (महिला जुनियर ६ किमि) मा रजत पदक जित्न सफल राममायले एपिएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण चुमेकी थिइन् ।

यसैगरी उनले गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण तथा ५ किमिमा रजत पदक जितेकी थिइन् । देवदह हाफ म्याराथनमा स्वर्ण हात पारेकी राममायाले राइट टु प्रोटिन रनमा रजत पदक जितिन् ।

दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत पदक जित्न सफल उनी तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडीक स्वर्ण पदक विजेता हुन् ।