सहिद स्मारक ‘सी’ डिभिजन लिग

पुनरागमन जित निकाल्दै मनोहरा शीर्ष स्थानमा

तस्विरः एन्फा

काठमाडौं । सानेपा क्लबविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै मनोहरा युनाइटेड युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार मनोहरालाई जित दिलाउन विवस मगर र लिलाबहादुर थापामगरले गोल गरे । सानेपाका लागि निराजनजंग शाहीले गोल गरे ।

लगातार चौथो जितसँगै मनोहराले पाँच खेलमा १२ अंक जोडेको छ । पराजित सानेपा समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।

तस्विरः एन्फा

खेलको १२औं मिनेटमा निराजनको गोमार्फत सानेपाले अग्रता लिएको थियो  । उनले पेम्बा दोर्जे लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट पोस्टको दिशा दिए ।

विवसले ६५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले लिलाको क्रसलाई वान टचमै जाली चुमाए ।

लिलाले ७८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मनोहरालाई २-१ को जित दिलाए । पुजन चौधरीलाई विपिन गुरुङले लडाएपछि मनोहराले पेनाल्टीको अवसर पाएको थियो । जसमा लिलाले सहजै गोल गरे ।