समूह इ

दुई युरोपेली टिमलाई एसियाली सामुराई जापानको चुनौती

स्पेन

स्पेन युरोप अन्तगर्तको छनोटमा समूह विजेता बन्दै विश्वकपमा छानिएको हो । समूह ‘बी’ मा आठ खेलमध्ये एकमा मात्रै हार व्यहोरेको स्पेनले त्यही लय कतारी भूमिमा जारी राख्नु पर्नेछ । किनभने समूह चरणमै उसले जर्मनीको सामना गर्दैछ । अनि एसियाको बलियो टिम जापान र मध्यअमेरिकी टिम कोस्टारिकालाई पनि पन्छाउनु छ । 

स्पेन बढीभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेर खेल्न चाहने टिम हो । यो आफैँमा सजिलो शैली होइन । र यस्तो शैली अपनाए वापत स्पेन कतिपय अवस्थामा दण्डित पनि भएको छ । जस्तै, छनोटका सुरुवाती खेलमा । पहिलो खेलमा स्पेन ग्रिससँग १–१ को बराबरीमा रोकेको थियो । दोस्रो खेलमा जर्जियालाई पन्छाउन दोस्रो हाफको आतिरिक्त समयमा गोल गरेको थियो । छनोटको अन्तिम खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटाले ८६ औँ मिनेटमा गोल गर्नु परेको थियो ।  

स्पेनका प्रशिक्षक लुइस एनरिकेको रणनीतिको मुख्य उद्देश्य प्रेसिङसहितको आक्रमण हुनेगर्छ । ४–३–३ संरचनामा खेल्ने स्पेनिस टिमको आक्रमण गोलरक्षको पासबाट सुरु हुन्छ । यो स्पेनको परम्परागत शैली हो । जसलाई एनरिकेले निरन्तरता दिएका छन् । 

स्पेन सदैव प्रतिभावान् खेलाडीले भरिने टिम हो । तर यो विश्वकपका लागि स्पेनको सबैभन्दा बलियो पक्ष खेलाडीहरूको समूह नभई एनरिके हुन् । उनलाई यो टिमका मुख्य हतियार मानिएको छ । स्पेनको टिममा ठूला स्टार, अनुभवी खेलाडी, उदाउँदा स्टारको समिश्रण छ । यी सबैलाई मिलाएर खेलाउने काम कम चुनौतीपूर्ण छैन । यो चुनौतीलाई एनरिकले सामना गरिरहेका छन् । 

सन् २००८ देखि २०१२ सम्म दुई युरो र एक विश्वकप जित्दा स्पेनसँग एकसेएक खेलाडी थिए । त्यही स्तरको टिम स्पेनले पछिल्लो समय निर्माण गर्न सकेका छैन । यसो किन भनिएको हो भने स्पेनसँग विगतमा जस्तो हरेक पोजिसनमा एकभन्दा बढी बलिया विपकल्प छैनन् । 

विश्वस्तरीय स्ट्राइकर नहुनु स्पेनिस टिमको सबैभन्दा ठूलो कमजोरी हो । अल्भारो मोराटा, आन्सु फाती, फेरान टोरेस, पाब्लो साराबिया, डानी ओल्मो आदिलाई स्पेनिस अग्रपंक्तिको सदस्य बनाइएको छ । तर यीमध्ये कोही पनि निरन्तर गोल गर्ने मामलामा प्रमाणित होइनन् । विश्वकप जस्तो उच्चस्तरको प्रतियोगिता खेल्न जाँदैगर्दा एक जना पनि विश्वस्तरीय स्ट्राइकर नहुनुले स्पेन पहिले जस्तो बलियो छैन कि भन्ने संशय उत्पन्न भएको छ । 

जर्मनी

सन् २०१४ मा विश्वकप जितेको जर्मनी आफ्नो साख फर्काउने कोसिसमा छ । पछिल्ला विश्वकप र युरोमा बिर्सनलायकको प्रदर्शन गरेपछि जर्मनीका लागि कतार विश्वकप आफूलाई फेरि एक पटक बलियो साबित गर्ने अवसर हो । जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो भने युरो २०२० मा अन्तिम १६ सम्म मात्र पुग्न सक्यो । 

फलतः युरोपछि जर्मनीले प्रशिक्षण टिम परिवर्तन ग¥यो । कुनैबेला योकिम लोका सहायक रहेका हान्सी फ्लिक हालका प्रशिक्षक हुन् । उनको नेतृत्वमा जर्मनीले विश्वकप छनोटमा कमालको प्रदर्शन गर्न सक्यो । खेलेका १० खेलमध्ये एकमा मात्र पराजय भोगेको जर्मनीले ३६ गोल गर्दा चार गोल मात्र खायो । 

बढीभन्दा बढी बल पोसेसन राख्ने र बल गुमाएको केही सेकेन्डभित्रै बल खोसिहाल्ने जर्मनीको शैली अहिले पनि यथावत छ । यी दुई पक्षमा आफ्नो टिम अरुभन्दा बलियो रहोस् भन्ने चाहना फ्लिकको छ । यसपालि पनि जर्मनीले ‘हाइ लाइन डिफेन्स’ अख्तियार गर्नेछ । यो भनेको रक्षापंक्तिलाई समेत अगाडि बढेर खेल्ने अनुमति हो । जस अनुसार फुलब्याक परम्परागत विंगर जस्तो विपक्षीको क्षेत्रमा पुगेर गोलको अवसर सिर्जना गर्ने प्रयास गर्छन् । 

जर्मनीको सबैभन्दा बलियो पक्ष टिममा भएका प्राविधिक रुपमा निपूण खेलाडी हुन् । विशेषगरी मिडफिल्डमा जर्मनीसँग यस्ता खेलाडीको संख्या बढी छ । एल्काई गुन्डोगन, जमाल मुसिआला, काई हाभर्ट्स, लेरो साने, सर्ज गानाब्री जस्ता खेलाडीसँग ‘प्लेमेकिङ’ मा होइन गोल गर्ने क्षमता पनि छ । फ्लिकको रणनीतिमा यी खेलाडीको भूमिका महत्त्वपूर्ण रहनेछ । 

संघर्षपूर्ण जित वा जसरी हुन्छ जित्ने भन्दा सुन्दर फुटबल खेलेर जित्ने योजना फ्लिकको हुनेछ । यद्यपि यसो गर्नका लागि जर्मनीले आफ्नो कमजोर पक्षतर्फ ध्यान दिनुपर्नेछ । ‘हाइ लाइन डिफेन्स’ को नीतिका कारण जर्मनी काउन्टर अट्याक सामना गर्दा अप्ठ्यारोमा पर्ने सम्भावना रहन्छ । उसै पनि फ्लिकले जर्मनीका लागि सनतुलित फुलब्याक भेट्न सकेका छैनन्, जोसँग आक्रामकता र रक्षात्मक क्षमता बराबरी होस् । 

सेन्ट्रल डिफेन्स पनि फ्लिकका लागि चिन्ताको विषय बन्न सक्छ । निकलस सुले र निको स्लोटरबेक बारम्बार गल्ती गरिरहने सेन्ट्रल डिफेन्डर भएकाले फ्लिकको ‘हाइ लाइन डिफेन्स’ रणनीति घातक बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । जर्मनीका लागि एन्टोनियो रुडिगर सबैभन्दा भरपर्दा रक्षक देखिएका छन् । तर उनी एक्लैले जर्मनीको रक्षापंक्ति सम्हाल्न सक्ने छैनन् ।  

१९ वर्षीय मुसिआला जर्मनीका उदाउँदा खेलाडी हुन् । बायर्न म्युनिखबाट लगातार खेल्न पाइरहेका उनी यसपालिको विश्वकपमा चम्किने सक्ने खेलाडीको सूचीमा छन् । ‘नम्बर १०’ को भूमिकामा देखा पर्ने उनले जर्मनीका लागि गोल गर्ने र अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । 

कोस्टारिका 

कोस्टारिका छैठौँ पटक विश्वकप खेल्न लागेको हो । ब्राजिलमा भएको विश्वकपमा क्वार्टरफाइनल पुगेको कोस्टारिका रुसमा भने समूह चरण कट्न सकेन । उत्तरी तथा मध्य अमेरिकी टिमहरुको कोनकाकाफ छनोटमा चौथो भएको कोस्टारिकाले प्लेअफमा न्युजिल्यान्डलाई हराउँदै विश्वकप २०२२ मा स्थान पक्का गरेको हो । 

कोनकाकाफको शीर्ष तीनमा रहने स्वतः विश्वकपमा खेल्न पाउने नियम छ । यो क्षेत्रमा अमेरिका तेस्रो स्थानमा रहेको थियो । अमेरिका जस्तै २५ अंक नै बटुलेको कोस्टारिका भने गोल अन्तरमा पछि परेकाले प्लेअफ खेल्न बाध्य बनेको थियो । 

कतार विश्वकपमा छनोट हुने ३२ औँ टिम बनेको कोस्टारिकाका लागि यो समूह कठिन छ । यस्तोमा प्रशिक्षक लुइस फर्नान्डो स्वारेजका लागि रक्षात्मक फुटबल खेलाउनु बाहेकको विकलप छैन ।  स्वारेज त्यसै पनि ४–४–२ वा ५–४–१ को संरचना प्रयोग गर्न रुचाउछन् ।

कोस्टारिकाको रक्षापंक्तिको नेतृत्व अवश्य पनि गोलरक्ष्क केयलर नाभासको काँधमा हुनेछ । पेरिस सृन्ट जर्मेन पीएसजीबाट फ्रेन्च लिग खेल्न नाभास यो टिमका सबैभन्दा ठूला स्टार पनि हुन् । यी ३५ वर्षीय भेट्रान गोलरक्षकको निर्णायक प्रदर्शनकै कारण कोस्टारिकाले विश्वकप टिकट सुरक्षित गर्न सकेको हो । 

कोस्टारिकाको अग्रपंक्ति भने तुलनात्मक रुपमा कमजोर छ । छनोट चरणका १४ खेलमा १३ गोल गरेको कोस्टारिकाका लागि जोएल क्याम्पबेल मुख्य स्ट्राइकर हुन् । 

जापान

जापानले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसयता लगातार विश्वकपमा छानिँदै आएको जापानका लागि अन्तिम १६ पुग्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । रुस विश्वकपमा पनि अन्तिम १६ मा स्थान बनाएको जापानले यसपालि एसियाली छनोटमा समूह बी को उपविजेता बन्दै कतारको टिकट सुरक्षित गरेको हो । 
एसियाको दोस्रो चरणको छनोटमा जापानले ४६ गोल गरेको थियो । जुन दोस्रो चरणमा कुनै पनि टिमले गरेको सर्वाधिक गोल हो । दोस्रो चरणमा एक खेल नहारेको जापानले तेस्रो तथा निर्णायक चरणको छनोटमा दुई खेल गुमाएको थियो । 
तेस्रो चरणमा ओमान र साउदी अरबसाग लगातार दुई हार व्यहोरेपछि जापानको विश्वकप लक्ष्य कमजोर बन्न पुगेको थियो । तर बाँकी सातमध्ये ६ खेलमा जित हात पारेपछि जापान समूह उपविजेता बन्दै विश्वकपमा छानिएको हो ।

जापान आफ्नो शैली परिवर्तन गरिरहने टिम होइन । २० वर्षभन्दा बढी भयो जापानले ठ्याक्कै एक शैलीमा खेल्न थालेको । सामान्यतया जापानी खेलाडी असाध्यै ‘टेक्निकल’ हुन्छन् । सन्तुलित र संयमित रक्षापंक्ति अनि तीव्र गतिमा खेल्नसक्ने विंगर जापानी टिमका लागि थप ‘प्लस प्वाइन्ट’ हुन् ।

जापानले समूह चरणमै स्पेन र जर्मनीको सामना गर्दैछ । यसको मतलब जापानले आफ्नो परम्परागत शैलीमा खेल्नेभन्दा रक्षात्मक बन्ने र काउन्टर अट्याकमा जोड दिनेछ । 

लगतातार ६ संस्करण विश्वकप खेलिसकेको जापानलाई अनुभवी टिम मान्न सकिन्छ । यसकारण ठूला र बलिया टिमसँग कसरी भिड्ने भन्ने कुरा जापानलाई राम्रोसाग थाहा छ । ६ मध्ये तीन संस्करणमा अन्तिम १६ को यात्रा गरेकाले पनि जापानलाई दुई युरोपियन टिमले कमजोर आक्ने छैनन् । 

जापानी प्रशिक्षक हाजिमे मोरियासुले यसपालिको टिम घोषणा गर्दा केही स्थापित नाम छुटेका छन्। क्योगो फुरुहासी र युया ओसाको जस्ता अनुभवी खेलाडीलाई नसमेटी मोरियासुले टाकुमा आसानो, आएसे उइडा र डाइजेन माएडालाई अग्रपंक्तिको जिम्मा दिएका छन् । यी तीनलाई पूर्वलिभरपुल फरवार्ड टाकुमी मिनामिनोले सघाउनेछन् । 
जापानी टिमका सबैभन्दा ठूला स्टार चाहिँ डाइची कामाडा हुन् । बुन्डेसलिगाको फ्रान्कफर्टबाट खेल्दै आएका कामाडा गोल गर्न र अवसर सिर्जना सिपालु छन् । यो सिजन सात लिग गोल गरिसकेका कामाडा जापानको हरेक आक्रमणको केन्द्र हुनेछन् ।