सहिद स्मारक ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए आरसी ३२ र समाज कल्याण

तस्विरः एन्फा

काठमाडौं । लिग लिडर आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रलाई १-१ को बराबरीमा रोकेको छ ।

बराबरी नतिजासँगै पाँच खेलमा ११ अंक जोडेको आरसी ३२ शीर्ष स्थानमा कायम छ । समाज कल्याण सामन खेलबाट ६ अंकका साथ सातौं स्थानमा यथावत छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालमा शुक्रबार सम्पन्न खेलमा समाज कल्याणका लागि रोशन क्षेत्री र आरसी ३२ का लागि किस्मत लिम्बुले गोल गरे ।

तस्विरः एन्फा

खेलको पाँचौं मिनेटमा रोशनको गोलमार्फत समाज कल्याणले अग्रता लिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा किस्मतले गोल गर्दै आरसी ३२ लाई बारबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

शुक्रबार नै सम्पन्न अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भू क्लबविरुद्ध ४-२ को जित निकाल्यो ।