लुका मोडरिच

स्वभाविक लय कायम रहनेमा मोडरिच विश्वस्त

दोहा । क्रोएसियाका कप्तान लुका मोडरिचले रुस विश्वकप २०१८ आफ्ना लागि सधै यादगार रहने भए पनि अहिले भने आफू कतार भ्रमण सफल बनाउनमा केन्द्रित रहेको बताएका छन ।

सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्सँग ४-२ ले निराश भएको थियो । क्रोएसियाको यात्रामा मोडरिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण उनले सो वर्ष बलोन डी अर जितेका थिए ।

कप्तान मोडरिचसँगै प्रशिक्षक ज्लाट्को डालिच क्रोएसियाले कतारमा पनि राम्रो नतिजा ल्याउनेमा विश्वस्त छन् । समूह एफमा रहेको क्रोएसियाले आज हुने पहिलो खेलमा मोरक्कोको सामना गर्नेछ ।

माडरिचले रुस विश्वपमा गोल्डेन बल जितेका थिए । मोडरिचले रुसमा गरेको प्रदर्शन इतिहास भैसकेकाले कतार विश्वकपमा त्यसले कुनै अर्थ नराख्ने बताए । 

‘पक्कै पनि हामीले रुस विश्वकपमा पाएको सफलता बिर्सन सकिदैन र त्यसले अहिले पनि हामीलाई मनोबल दिन्छ’, मोडरिचले भने,' तर हामीले त्यसबारे पछि पनि कुरा गर्न सक्छौ । अहिले हामी कतार भ्रमण कसरी सफल बनाउने र गत संस्करणकोजस्तो लय कसरी कायम राख्ने भन्नेमा केन्द्रित छौ । सो टोलीका अधिकांश खेलाडी अहिले छैनन । युवा खेलाडीको बाहुल्यता रहेको छ । यो नयाँ संस्करण हो र नयाँ खेलाडीको साथमा हामी उपाधि कै लागि खेल्नेछौ ।'

क्रोएसिया विश्वकपको पहिलो खेलमा आफ्नो खराब नतिजा पनि भुलाउन चाहन्छ । विश्वकपको ५ संस्करणमध्ये ३ संस्करणको पहिलो खेलमा क्रोएसिया पराजित भएको छ ।

डालिचको टोली उत्कृष्ट लयमा छ । जसका लागि छनोट चरणमा कुनै कठिनाइ भएन । साथै क्रोएसियाले नेसन्स लिगमा पनि समूह विजेता बन्दै आफू लयमा रहेको संकेत दिइसकेको छ ।