वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय

उपाधिका लागि लुम्बिनी र कर्णाली भिड्ने

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटको उपाधिका लागि लुम्बिनी र कर्णाली प्रदेश भिड्ने भएका छन् ।

लिग चरणको अन्तिम खेलमा शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएसँगै फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।

लुम्बिनी ६ खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको कर्णालीले पनि समान खेलबाट आठ अंक नै जोड्यो ।

पराजित बागमती पनि आठ अंक नै थियो । तर रनरेटमा पछि पर्दा बागमती अगाडि बढ्न सकेन । जित निकालेको सुदूरपश्चिम ६ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

लुम्बिनीको ०.८२०, कर्णालीको ०.५१६ र बागमतीको ०.३८९ रनरेट रह्यो ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य सुदूरपश्चिमले १०.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र बसन्त कार्कीले समान १७ तथा नरेन साउदले १० रन बनाए ।

बागमतीका लागि इशान पाण्डेले तीन, रिजन ढकालले दुई र सोनु देवकोटाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल तयार पार्यो । बागमतीका लागि सोनु देवकोटाले ३५ र रिजन ढकालले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि भोजराज भट्टले चार, हेमन्त धामीले तीन, शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।