नेपाली फुटबल

बेलायत भ्रमणका लागि एन्फाले माग्यो ३० जनाको स्विकृति

काठमाडौं । यही बैशाख २४ गते बेलायतको अल्डरसटमा इङ्ल्यान्ड ‘सी’ र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मैत्रिपुर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय खेलकुद परिषद(राखेप)समक्ष ३० जनाको स्विकृति मागेको छ ।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरुप नेपाली राष्ट्रिय टोली बेलायत प्रस्थान गर्दैछ । यसका लागि एन्फाले राखेपसमक्ष २३ खेलाडी र सात पदाधिकारीको स्विकृति मागेको हो । यी सात पदाधिकारीमा प्रशिक्षक, टोली व्यवस्थापक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, फिजियो, अफिसियल र हेड अफ डेलिगेट्स रहेका छन् ।

नेपालले यही जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युएईको सामना गर्दैछ । समूहका सबै खेल हारेको नेपालको विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ । युएईपछि नेपालले जेठ २९ गते यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । खेल यमनको अहमद बिन अली रंगशालामा हुनेछ ।

उसोत एन्फाले ३० जनाको स्विकृति मागेको जानकारी गराएको छ, केही एन्फा श्रोतका अनुसार ५० जनाको टोली लाने तयारी भइरहेको बुझिएको छ । एन्फाका एक पदाधिकारीका अनुसार ३५ जनाको भिसा प्रक्रिया नै सुरु भइसकेको छ । बाँकीको पनि प्रक्रिया सुरु गर्ने तयारी छ । उनका अनुसार एन्फा अध्यक्ष पंकज नेम्बाङको नेतृत्वमा पदाधिकारीको लामै सुची बेलायत भ्रमणका लागि तयार गरिएको छ ।