सहिद स्मारक ‘सी’ डिभिजन लिग

‘सी’ डिभिजन लिगको अवरुद्ध खेल सुरु

स्वयम्भू क्लब

काठमाडौं । विवादका कारण सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार अवरुद्ध भएको सामाजिक युवा र स्वयम्भू क्लबबीचको खेल एन्फा कम्प्लेक्समा सुरु भएको छ ।

१ बजे सुरु हुने भनिएको खेल विवादको समाधान भइनसकेका कारण निर्धारित समयमा सुरु हुन सकेको थिएन । तर असन्तुष्ट ९ क्लब र एन्फा नेतृत्वबीचको छलफलपछि विवादित खेलाडी र ‘बी’  डिभिजन क्लबबीचको सम्झौता पत्र माग गर्ने तथा सरुवा प्रक्रियाको अध्ययन गरेर उचित निर्णय लिने सहमति भएको बताइएको छ । साथै क्लब र एन्फा नेतृत्वबीच भोली शनिबार पनि अर्को बैठक बस्ने सहमति भएको बताइन्छ ।

छलफलमा असन्तुष्ट ९ क्लब सामाजिक युवा, स्वयम्भु, पुल्चोक, मनोहरा, समाज कल्याण, महावीर, झम्सिखेल, खालीबारी, गोलबजारका पदाधिकारी सहभागी थिए । एन्फाका तर्फबाट अध्यक्ष नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष दीपक खतिवडालगायत थिए ।

शीर्ष टोली आरसी ३२ ले अयोग्य खेलाडी खेलाएको कारण उसको अंक खोस्नुपर्ने भन्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका ९ क्लबले शुक्रबार १ बजे हुने तय भएको खेल अवरुद्ध गरेका थिए ।

आरसीले ‘बी’ डिभिजन लिगका झापा फुटबल क्लबका झुमन मगर र श्री भगवती क्लबका बबिन बोहरालाई खेलाएको भन्दै ९ क्लबले झापामाथि कार्वाही गर्न भनेर प्रोटेस्ट हालेका थिए । यसैगरी बागमतीले श्री भगवती क्लबका अशोक दर्लामीलाई खेलाएको भन्दै स्वयम्भुमाथि पनि प्रोटेस्ट हालेको थियो ।

एन्फाले ‘सी’ डिभिजन लिग सुरु हुनुअघि ‘ए’ र ‘बी’ डिभिजनका सबै क्लबसँग आफूसँग आबद्ध खेलाडीको सुची पठाउन आह्वान गरेको थियो । तर ‘बी’ डिभिजनका झापा, च्यासल, श्री भगवती र बाँसबारीले गरि ७८ खेलाडीको सुची आफूसँग आबद्ध भएको दाबीका साथ एन्फालाई पत्राचार गरेका थिए । ‘ए’ डिभिजनको एपिएफले दुई खेलाडीको नाम पठाएको थियो ।

९ क्लबका प्रतिनिधिले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई भेटेर आरसी ३२ माथि कार्वाही नभए शुक्रबारबाट लिग नखेल्ने चेतावनी दिएका थिए । अध्यक्ष नेम्वाङले पनि आरसीमाथि कार्वाही गर्ने आश्वासन दिएको बताइएको थियो ।

तर, क्लबहरुको मागअनुसार शुक्रबार १ बजेसम्ममा आरसीको अंक नखोसिएका कारण १ बजेलाई तय भएको सामाजिक युवा र स्वयम्भु क्लबविरुद्धको खेल समयमा सुरु हुन सकेको थिएन ।

लिगका २६ मध्ये चौथो चरणको समाप्तीमा १० अंकका साथ आरसी ३२ शीर्ष स्थानमा रहँदा समान ९ अंकका साथ पुल्चोक, साँगा र मनोहरा दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

यसैगरी समान ७ अंक जोडेका सानेमा र बागमती पाँचौं तथा छैटौं स्थानमा छन् । पाँच अंकका साथ समाज कल्याण र महावीर सातौं तथा आठौं स्थानमा छन् । त्यस्तै समान तीन अंकका साथ रानीबन र झम्सिखेल नवौं र १०औं स्थानमा छन् । दुई अंकमा सीमित स्वयम्भू, खालीबारी, गोलबजार र सामाजिक युथ पुछारका चार स्थानमा छन् ।