सहिद स्मारक ‘सी’ डिभिजन लिग

‘सी’ डिभिजन लिग अवरुद्ध

आरसी ३२

काठमाडौं । शीर्ष टोली आरसी ३२ ले अयोग्य खेलाडी खेलाएको कारण उसको अंक खोस्नुपर्ने भन्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका ९ क्लबले शुक्रबार १ बजे हुने तय भएको खेल अवरुद्ध गरिरहेका छन् ।

 ‘बी’ डिभिजन लिगका झापा फुटबल क्लबका झुमन मगर र श्री भगवती क्लबका बबिन बोहरालाई खेलाएको भन्दै ९ क्लबले आरसीमाथि कार्वाही गर्न भनेर प्रोटेस्ट हालेका थिए । यसैगरी बागमतीले श्री भगवती क्लबका अशोक दर्लामीलाई खेलाएको भन्दै स्वयम्भुमाथि पनि प्रोटेस्ट हालेको थियो ।

एन्फाले ‘सी’ डिभिजन लिग सुरु हुनुअघि ‘ए’ र ‘बी’ डिभिजनका सबै क्लबसँग आफूसँग आबद्ध खेलाडीको सुची पठाउन आह्वान गरेको थियो । तर ‘बी’ डिभिजनका झापा, च्यासल, श्री भगवती र बाँसबारीले गरि ७८ खेलाडीको सुची आफूसँग आबद्ध भएको दाबीका साथ एन्फालाई पत्राचार गरेका थिए । ‘ए’ डिभिजनको एपिएफले दुई खेलाडीको नाम पठाएको थियो ।

एन्फा पदाधिकारीहरुका अनुसार कुनै पनि क्लबले खेलाडीसँगको करारपत्र भने पठाएका थिएनन् । ‘क्लबहरुले लेटरप्याडमा खेलाडीको सुची राखेर हामीसँग आबद्ध छन मात्र भनेका छन् । करार पठाएका छैनन् । ‘सी’ डिभिजन प्रतियोगिता नियमावलीमा ‘ए’ डिभिजन खेलेको खेलाडी मात्र खेलाउन नपाउने नियम छ,’ एन्फा सचिवालयका एक पदाधिकारीले भने ।

९ क्लबका प्रतिनिधिले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई भेटेर आरसी ३२ माथि कार्वाही नभए शुक्रबारबाट लिग नखेल्ने चेतावनी दिएका थिए । अध्यक्ष नेम्वाङले पनि आरसीमाथि कार्वाही गर्ने आश्वासन दिएको असन्तुष्ट क्लबका एक पदाधिकारीले भने ।

तर, क्लबहरुको मागअनुसार शुक्रबार १ बजेसम्ममा आरसीको अंक नखोसिएका कारण अहिले १ बजेलाई तय भएको सामाजिक युवा र स्वयम्भु क्लबविरुद्धको खेल हुन सकेको छैन ।

असन्तुष्ट ९ क्लबका पदाधिकारी र एन्फा नेतृत्वबीच एन्फा कार्यालयमा छलफल चलिरहेको छ भने मैदानमा दुवै टिमका खेलाडीहरु जर्सी लगाएर प्रतिक्षा गरिरहेका छन् ।

छलफलमा असन्तुष्ट ९ क्लब सामाजिक युवा, स्वयम्भु, पुल्चोक, मनोहरा, समाज कल्याण, महावीर, झम्सिखेल, खालीबारी, गोलबजारका पदाधिकारी सहभागी छन् । एन्फाका तर्फबाट अध्यक्ष नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष दीपक खतिवडालगायत छन् ।

‘सी’ डिभिजन लिगका १४ क्लबमध्ये शीर्ष स्थानको आरसी ३२, सानेपा, बागमती, साँगा र रानीबन क्लब भने लिग सुचारु गर्ने पक्षमा छन् ।

लिगका २६ मध्ये चौथो चरणको समाप्तीमा १० अंकका साथ आरसी ३२ शीर्ष स्थानमा रहँदा समान ९ अंकका साथ पुल्चोक, साँगा र मनोहरा दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

यसैगरी समान ७ अंक जोडेका सानेमा र बागमती पाँचौं तथा छैटौं स्थानमा छन् । पाँच अंकका साथ समाज कल्याण र महावीर सातौं तथा आठौं स्थानमा छन् । त्यस्तै समान तीन अंकका साथ रानीबन र झम्सिखेल नवौं र १०औं स्थानमा छन् । दुई अंकमा सीमित स्वयम्भू, खालीबारी, गोलबजार र सामाजिक युथ पुछारका चार स्थानमा छन् ।

लिगबाट शीर्ष दुई टोली ‘बी’ डिभिजनमा बढुवा हुन्छन् भने पुछारका दुई टोली श्रेणीविहिन हुन्छन् ।