कतार विश्वकप २०२२

लेवान्डोवस्कीले पेनाल्टी चुकाएको खेलमा पोल्यान्ड र मेक्सिकोको बराबरी

काठमाडौं । कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोवस्कीले पेनाल्टी खेर फालेको विश्वकप खेलमा पोल्यान्डले मंगलबार मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ ।

यसै सिजनमात्र जर्मन महारथी बायर्न म्युनिखबाट स्पेनिस ला लिगाको टोली बार्सिलोना सरुवा भएका लेवान्डोवस्कीले प्रहार गरेको पेनाल्टी मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले बचाएका थिए ।

५८औं मिनेटमा हेक्टर मोरेनोले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीमा लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट विपक्षी गोलकिपरले सहजै फर्काएका थिए ।

पोल्यान्डको फुटबल इतिहासमै सबभन्दा बढि अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका लेवान्डोवस्कीले राष्ट्रिय टोलीका लागि एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर विश्वकपमा भने उनले पोल्यान्डका लागि अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् । जारी सिजनमा स्पेनिस महारथी बार्सिलोनाका लागि १३ खेलमा १४ गोल गरेर राम्रो स्कोरिङ फर्मका साथ उनी विश्वकपका लागि कतारको यात्रामा निस्किएका थिए ।

समूह ‘सी’ अन्तर्गत रंगशाला ९७४ मा सम्पन्न खेलमा मेक्सिकोले खेलमा एकतर्फी नियन्त्रण राखे पनि गोल गर्न भने सकेन ।

बराबरीपछि अंक बाढेका पोल्यान्ड र मेक्सिको समूहको अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा छन् । मंगलबारै चाँडोगरि सम्पन्न खेलमा विश्वकप इतिहासकै ठूलो स्तब्धतापूर्ण नतिजामध्ये एक निकाल्ने क्रममा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई २-१ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा छ ।

उपाधिको मुख्य दाबेदारको हैसियतमा दक्षिण अमेरिकाबाट मध्यपूर्वको भ्रमणमा आएको लियोनेल मेसीको अर्जेन्टिना पुछारमा छ ।

समूह चरणअन्तर्गतको आफ्नो दोस्रो खेलमा शनिबार पोल्यान्डले साउदी अरेबिया तथा मेक्सिकोले अर्जेन्टिनाको सामना गर्नेछन् ।