कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता

कर्पोरेट सुपर सिक्सेसः माछापुच्छ्रे च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सातौं संस्करणमा च्याम्पियन बनेको छ ।  

मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा माछापुच्छ्रेले आइसिएफसी फाइनान्सलाई तीन विकेटले पराजित गर्यो ।

माछापुच्छ्रे पहिलो पटक च्याम्पियन भएको हो। आइसिएफसी फाइनान्सले प्रस्तुत गरेको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। माछापुच्छ्रेका लागि निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे।

आइसिएफसीका लागि सुरज तिम्सिना र सन्जोग गुरुङले समान एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको आइसिएफसीले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो। आइसिएफसीका लागि अरविन्द राणाले  ३१ र  सुरज तिम्सिनाले १६ रन जोडे।

विजेता माछापुच्छ्रे र उपविजेता आइसिएफसीले ट्रफी र गिफ्ट ह्याम्पर पाए। विजेता माछापुच्छ्रे बैंकले आगामी संस्करणमा सहभगातीका लागि कुनै शुल्क तिर्नुपर्ने छैन ।

प्लेयर अफ दी टुर्नामेन्टमा आईएफसीका सुरज तिम्सिना सर्वोकृष्ट खेलाडी र एनआइसी एसियाका अमर रावल उत्कृष्ट ब्याटर घोषित हुँदै गिफ्ट ह्याम्पर पाए।

यसैगरी आइसिएसीका सुरज तिम्सिना उत्कृष्ट बलर, माछापुच्छ्रेका सृजन सुवेदी उत्कृष्ट फिल्डर र निशेष केसी उत्कृष्ट विकेटकिपर चुनिए । उनीहरुले पनि गिफ्ट ह्याम्पर प्राप्त गरे ।

अमर सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुँदा फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्यो।