इन्डियन प्रिमियर लिग

दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं । घरेलु टोली दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि २० रनको जित दर्ता गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ पुग्ने आशा कायमै राखेको छ ।

जितसँगै १२ खेलमा १२ अंक जोडेको दिल्ली पाँचौं स्थानाम उक्लिएको छ । पराजित राजस्थान ११ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ ।

अरुण जेट्ली क्रिकेट रंगशालमा दिल्लीले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै  २०१ रन मात्र बनायो।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४६ बलमा आठ चौका र ६ छक्काको मद्दले सर्वाधिक ८६ रन बनाए । यसैगरी रियान परागले २७, शिभम दुवेले २५, जोस बट्लरले १९ र रोभमन पावेलले १३ रन बनाए  ।

सञ्जुले दोस्रो विकेटका लागि जोससँग ६३ र चौथो विकेटका लागि शिभमसँग ५९ रनको साझेदारी गरे । दिल्लीका लागि खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान दुई तथा अक्षर पटेल र रशिख सलामले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा आठ विकेट गुमाउँदै २२१ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी ज्याक फ्रेसर म्याकग्रुकले २० बलमा सात चौका र तीन छक्काको मद्दतले ५०, ट्रिस्टन स्टब्सले ४१, गुल्बदिन नइबले १९ तथा अक्षर पटेल र कप्तान ऋषभ पन्तले समान १५ रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र ज्याकले ६० रनको साझेदारी गरे । राजस्थानका लागि रविचन्द्रण आश्विनले तीन तथा ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।