फुल कन्ट्याक्ट कराते

फुल कन्ट्याक्ट करातेः अनिशालाई स्वर्ण

महिला खुल्लामा पदक विजेता

काठमाडौं । एपिएफकी अनिशा तामाङले १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुल्ला तौल समूहमा मंगलबार स्वर्ण पदक जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजकका विज्ञान तोलोङगी पहिलो भए । उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए ।

पुरुष ६० केजीमुनिको फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई हराउँदै स्वर्ण पदक हात पारे ।

पुरुष ७० केजीमुनिमा आर्मीका सनीसिंह सुनारले स्वर्ण पदक चुमे । उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पराजित गरे । पुरुष ७० केजीमाथि आइकेओका अमित महर्जनले फाइनलमा एपएिफका पेम्बाछिरि तामाङलायृ हराउँदै स्वर्ण पदक जिते ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपिएफ गरी ९ टिमका ८० खेलाडी सहभागी थिए ।