जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

अपीको सान्त्वना जित

काठमाडौं । अपी स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सान्त्वना जित दार्ता छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा मंगलबार अपीले जेम्स स्कुलविरुद्ध तीन विकेटको जित निकाल्यो । जितसँगै अपीले तीन खेलमा दुई अंक जोड्यो । पराजित जेम्सले पनि समान खेलबाट दुई अंक जोड्यो ।

जेम्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य अपीले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । अपीका लागि एकेन्द्र बुढाले ४२, क्रिजल प्रसाईँले ३० र विराट बस्नेतले २० रन बनाए ।

जेम्सका लाागि रमन महासेठ र सौरभ चौधरीले समान दुई तथा प्रवल श्रेष्ठले एक विकेट लिए ।

त्यसअघि टस हरेर ब्याटिङको निम्तो पाएको जेम्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो । जेम्सका लागि अक्षन्त सुवेदीले ४३ र एलिक शाक्यले २२ रन बनाए ।

अपीका लागि विराट बस्नेतले दुई तथा राधव शर्मा र युगान्त कार्कीले समान एक विकेट लिए ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा एन्जल हार्ट स्कुलले केएमसीलाई ६ विकेटले हरायो ।