समूह डी

जिरौउडको कीर्तिमानमा फ्रान्सको सहज जित

दोहा । ओलिभर जिरौउडले थिएरी अनरीको सर्वकालिन गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेको दिन साबिकको विजेता फ्रान्सले मंगलबार अस्ट्रेलियामाथि ४-१ को जितसहित कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।

रुस विश्वकप २०१८ को पहिलो खेलमा पनि फ्रान्सले अस्ट्रेलियालाई नै हराएको थियो । 

चोटका कारण करिम बन्जेमा र पाउल पोग्बालाई गुमाएको फ्रान्सको उपाधि रक्षाको लक्ष्य क्रायग गुडविनले नवौं मिनेटमा गरेको गोलमा अस्ट्रेलियाले अग्रता लिँदा धरमराएको थियो ।

२७औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्स खेलमा फर्किएको थियो । त्यसको पाँच मिनेटपछि जिरौउडले फ्रान्सलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा किलियन एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि जिरौउडको व्यक्तिगत दोस्रो गोलमा फ्रान्सले ४-१ को अग्रता लिएको थियो ।

फ्रान्सका लागि जिरौउडको यो ५१औं गोल हो र उनले अनरीको कीर्तिमानसँग बराबरी गरेका हुन् । रुस विश्वपमा पनि जिरौउडले फ्रान्सको विश्वकप उपाधिको लक्ष्यमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

यसअघि समूह डी अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका थिए ।

फ्रान्सले दोस्रो खेलमा शनिबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियाले सोही दिन ट्युनिसियासँग खेल्नेछ ।