बिआइबी कप अन्तरविद्यालय बास्केटबल

बुद्ध र निस्टलाई बिआइबी कप

काठमाडौं । बुद्ध ऐकडेमी र निस्टले पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गर्ल्समा च्याम्पियन बने ।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८-४४ ले पराजित गर्यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गरे ।

गर्ल्सको उपाधि भिडन्तमा पुर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५-२१ ले हरायो । ब्वाइज/गर्ल्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिश र पुर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गर्ल्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने । सहभागीमध्ये निसर्ग वाटिका अनुशासित टिम चुनियो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बिआइएसका प्रिन्सिपल हरि लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइज/गर्ल्समा समान १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।