लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

मनिषको उत्कृष्ट प्रदर्शनप्रेरित क्याम्पियन क्वार्टरफाइनमा

काठमाडौं । मनिष राजोपाध्यायको उत्कृष्ट प्रदर्शनमा क्याम्पियन सोलो शनिबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा क्याम्पियनका मनिसले १३ अंकको योगदान गरेका थिए ।

चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको क्याम्पियनले एनसिसिएसविरुद्ध ६७-५५ को अंकमा जित निकाल्यो । पहिलो क्वाटर २२-११, दोस्रो क्वाटर १८-१५, तेस्रो क्वाटर २९-१६ र चौथों क्वाटर १६-१३ स्कोर गर्यो । 

शनिबारै भएको पुरुषतर्फको अर्को खेलमा किर्तिपुर नगरपालिकाले कास्कीलाई ९४-४७ को अंकमा हरायो । किर्तिपुरका लागि अनिल खड्गीले सात अंक जोडे । किर्तिपुरले पहिलो क्वाटरमा २८-१३, दोस्रोमा २६-१४, तेस्रोमा २०-१४ र चौथोंमा २०-७ स्कोर गर्यो । 

यस्तै, शनिबारै हुने महिलातर्फको पहिलो खेलमा रोयल बास्केटबल एकेडेमी र किर्तिपुर नगरपालिकाको प्रतिस्पर्धा भैरहेको छ । महिलातर्फको दोस्रो खेलमा एचाआइके भिजन र बिएमके खेल्नेछन् ।

नेपाल बास्केटबल संघको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ १४ टोली र महिलातर्फ पाँच टोलीको सहभागिता छ । चार समूहमा विभाजन गरिएको पुरुषतर्फका टोलीले लिग कम नकआउटको आधारमा र महिलातर्फ भने राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा भइरहेको छ । 

समूहका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । पुरुष तथा महिलाका च्याम्पियनले समान ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ ले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।