इन्डियन प्रिमियर लिग

आरसिबीको हार यात्रा छैटौँ खेलमा आएर रोकियो

काठमाडौं । सनराइजर्स हैदराबादलाई ३५ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा आफ्नो हार यात्रा छैटौँ खेलमा आएर रोकेको छ ।

सुरुआती ब्याटिङ गरेको आरसिबीले सात विकेट गुमाउँदै दुई सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा हैदराबादले ८ विकेट गुमाएर मात्र एक सय ७१ रन बनाउन सक्यो ।

आरसिबीले ९ खेल खेल्दा दोस्रो जित निकालेको छ । चार अंक जोडेको टोली तालिकाको भने पुछारमै छ । दोस्रो खेलमा पञ्जाव किङ्सलाई चार विकेटले हराएपछि लगातार ६ हार बेहोरेको थियो । पहिलो खेलमा पनि आरसिबी चेन्नईसँग ६ विकेटले पराजित भएको हो ।

हैदराबाटको भने यो तेस्रो हार हो । तेस्रो स्थानमा रहेको हैदराबादको दश अंक छ । यो हारले टोलीको दोस्रो स्थान गुमेको छ ।

आइपिएलको ४१औं खेलमा घरेलु टोली हैदराबादले राम्रो प्रदर्शन गर्न सकेन । सहबाज अहमेदले ३७ बलमा सर्वाधिक ४० रन बनाए । ओपनर अभिषेक शर्माले १३ बल र कप्तान प्याट कमिन्सले १५ बलमा समान ३१ रन बनाएका हुन् । नितिश कुमार रेडी र भुवनेश्वर कुमारले समान १३ र अब्दुल समादले दश रनको मात्रै सहयोग गरेका हुन् ।

हैदराबादमा टस जितेर आरसिबीले ब्याटिङ गर्ने निर्णय गर्दा ओपनर विराट कोहलीले ४३ बलमा ५१ रन बनाए । रजत पतिदारले पनि २० बलमा ५० रन बनाएका हुन् । ओपनर तथा कप्तान फाप डु प्लेसिस २५, क्यामरन ग्रीनले ३७ रनको योगदान गरेका हुन् । हैदराबादका जायदेव उनदकातले सर्वाधिक तीन विकेट लिए ।