सहिद स्मारक ‘सी’ डिभजन लिग

सुमन, बबिन र अशोकलाई प्रतिबन्ध, आरसी ३२ र स्वयम्भूकाे अंक खोसियो

बिबिन बोहरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फ) अनुशासन समितिले सुमनबहादुर मगर, बिबिन बोहरा र अशोक दलार्मीलाई सहिद स्मारक ‘सी’ डिभजन लिगमा प्रतिबन्ध लगाएको छ ।

अनुसाशन समितिले उनीहरु ‘बी’ डिभिजन क्लबमा दर्ता भएको र रिलिज लेटरविनै ‘सी’ डिभिजन खेलेको भन्दै कार्वाही गरेको हो ।

सुमन र बबिनले आरसी ३२ फुटबल एकेडेमी तथा अशोकले स्वयम्भू क्लबबाट लिग खेलिरहेका थिए ।  बबिन र अशोक श्री भगवती तथा सुमन झापा फुटबल क्लबमा दर्ता छन् ।

चैत २२ मा खालिबारीविरुद्ध सुमन र  बैशाख १०मा समाजिक युवा क्लबविरुद्ध बबिनलाई खेलाएको भन्दै आरसी ३२ विरुद्ध उजुरी परेको थियो । 

क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाे जनाएको छ।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार बबिनलाई अनुशासनको कारबाही गरी खेल रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० ले विजेता  गरिएको छ।  साथै आरसी ३२ लाई दुवै खेलमा १० हजार रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोकदर्लामीलाई स्वयम्भू क्लबले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले अशोकले फुकुवाविनै खेलेको भन्दै उजुरी गरेको थियो।

उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भू र बागमतीबीचकाे खेल रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ। 

स्वयम्भूलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएकाे छ । आरसी ३२ र सामाजिक युथ गोलरहित तथा स्वयम्भु र बागमती १-१ को बराबरीमा रोकिएका थिए ।