इङ्लिस प्रिमियर लिग

फोडेन चम्किदा म्यानचेष्टर सिटीको सहज जित

काठमाडौं । फिल फिडेनको दुई गोल प्रेरित म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति ब्राइटनविरुद्ध ४–० को सहज जित निकालेको छ ।

ब्राइटन घरेलु मैदानमा ३२ हजार समर्थकमाथि सिटीको जितमा फोडेनले दुई तथा केभिन डि ब्रुएना र जुलियन अल्भारेजले समान एक गोल गरेका हुन् । सिटीको जितमा रक्षक केली वाल्करले दुई असिष्ट पनि गरेका थिए ।

ब्राइटनविरुद्ध सहज जितपछि सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा २३ जित निकालेको सिटीको ७६ अंक छ । एक खेल बढी खेलेको आर्सनले ७७ अंकसहित शीर्ष स्थानमा छ । ७४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा झरेको छ । ब्राइटन ४४ अंकसहित ११औं स्थानमा छ ।

खेलको १७औं मिनेटमा डि ब्रुएनाले वाल्करको पासमा अग्रता दिलाएका हुन् । फोडेनले २६औं मिनेटमा अग्रता २–० को बनाए । बर्नान्डो सिल्भाले दिएको पासलाई सदुपयोग गर्दै फोडेनले ३४औं मिनेटमा ते्रो गोल गरेपछि पहिलो हाफमै सिटी जित नजिक पुगेको थियो । 

६२औं मिनेटमा विश्व विजेता अर्जेन्टिनाका युवा स्ट्राइकर अल्भारेजले गोल गर्दै सिटीलार्य सहजत जित दिलाएका हुन् । यो जितले त्रिकोणात्मक उपाधी भिडन्तमा सिटी सहज अवस्थामा पुगेको छ ।