इन्डियन प्रिमियर लिग

बेंगलुरुले गुजरातलाई हरायो

काठमाडौं । घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार गुजरात टाइटन्सविरुद्ध चार विकेटको जित निकालेको छ ।

जितसँगै ११ खेलमा आठ अंक जोडेको बेंगलुरु आठौं स्थानमा उक्लिएको छ । पराजित गुजरात समान खेलबाट आठ अकंका साथ नवौं स्थानमा झरेको छ ।

एम चिन्‍नास्‍वामी रंगशालामा गुजरातले प्रस्तुत गरेको १४७ रनको लक्ष्य बेंगलुरुले १३.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

बेंगलुरुका लागि कप्तान फाफ डु प्लेसीले २३ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी विराट कोहलीले ४२ रन बनाउदा दिनेश कार्तिक २१ र स्वप्निल सिंह १५ रनमा अविजित रहे।

पहिलो विकेटका लागि फाफ र विराटले ९२ रनको साझेदारी गरे । गुजरातका लागि जोश लिटिलले चार ओभरमा ४५ रन खर्चिदै चार विकेट लिए ।  यसैगरी नुर अहमदको नाममा दुई विकेट रह्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि शाहरुख खानले ३७, राहुल तेवतियाले ३५, डेविड मिलरले ३०,  रासिद खानले १८ र विजय शंकरले १० रन बनाए ।

चौथो विकेटका लागि राहुल र डेविडले ६१ रनको साझेदारी गरे । बेंगलुरुका लागि मोहम्मद सिराज, यश दयाल र विजयीकुमार वैशाखले समान दुई तथा  क्यामरुन ग्रिन र कर्ण शर्माले समान एक विकेट लिए ।