मेजर लिग सकर

मियामीका लागि स्वारेजको पहिलो ह्याट्रिक

काठमाडौं । लुइस स्वारेजेको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा आइतबार न्युयोर्क रेडबुल एफसीविरुद्ध ६-२ को फराकिलो जित निकालेको छ ।

घरेलु चेज रंगशालामा मियामीलाई जित दिलाउन स्वारेजले ह्याट्रिक पूरा गर्दा म्याथिस रोजासले दुई र लियोनल मेसीले एक गोल थपे । न्युयोर्कका लागि दान्ते भान्जेर र इमिल फोर्सबर्गले गोल गरे ।

जितसँगै १२ खेलमा २४ अंक जोडेको मियामी इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा छ । पराजित न्युयोर्क ११ खेलबाट १७ अंकका साथ चौथो स्थानमा छ ।

खेलको ३०औं मिनेटमा भान्जेरको गोलमार्फत न्युयोर्कले अग्रता लिएकाे थियाे । ४८औं मिनेटमा रोजासले मियामीलाई बराबरीमा ल्याए ।

दुई मिनेटपछि नै मेसीले मियामीलाई २-१ ले अगाडि बढाए । ६२औं मिनेटमा रोजासले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

स्वरेजले ६८, ७५ र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि मियामी ६-१ ले अघि बढ्यो । मियामीका लागि स्वारेजको यो पहिलो ह्याट्रिक हो ।

इन्जुरी समयमा फोर्सवर्गले गोल गरेपछि खेल ६-२ को स्थितीमा सकियो ।