इङ्लिस प्रिमियर लिग

हालान्ड चम्किँदा सिटीको फराकिलो जित

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रर्दशनप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार उल्भरह्यामटनविरुद्ध ५-१ को फराकिलो जित निकालेको छ ।

जितसँगै ३५ खेलमा ८२ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित उल्भरह्यामटन ३६ खेलबाट ४६ अंकका साथ ११औं स्थानमा छ ।

घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीलाई जित दिलाउन हालान्ड चार तथा जुलियन अल्भारेजले एक गोल गरे । उल्भरह्मटनका लागि ह्वाङ ही चानले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए । जोस्को जिभार्डीओलमाथि उल्भरह्यामटनका आइट नुरीले फउल गरेपछि सिटीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

 जुलियन अल्भारेज

हालान्डले ३५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले रोड्रीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी ३-० ले अघि बढ्यो । चानले ५३औं मिनेटमा उल्भरह्यामटनका लागि एक गोल फर्काए ।

हालान्डले ५४औं मिनेटमा फिल फोडेनको पासलाई जाली चुमाउँदै ब्यक्तिगत चौथो गोल गरे । ८५औं मिनेटमा अल्भारेजले गोल गर्दा सिटी ५-१ ले विजयी भयो ।