स्पेनिस ला लिगा

बार्सिलोनाको हारले रियाल ला लिगा च्याम्पियन

काठमाडौं । बार्सिलोना पराजित भएपछि रियाल मड्रिड  २०२३/२४ सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।  बार्सिलोना शनिबार जिरोनासँग ४-२ ले पराजित भयो ।

जितसँगै जिरोना ३४ खेलमा ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना समान खेलबाट ७३ अंकका साथ तेस्रो स्थानमा छ । 
शीर्ष स्थानको रियालले ८७ अंक जोडेको छ । यससँगै जिरोना पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको छ । 

जिरोनाको घरेलु मैदान मोन्टिलिभी रंगशालामा खेलको तेस्रो मिनेटमा नै आन्द्रेयस क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । एक मिनेटपछि नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे ।

जिरोनाविरुद्ध गोल गरेपछि रोर्बट लेवान्डोस्की

पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए ।क्रिस्टियन पोर्टुले ६५औं मिनेटमा जिरोनालाई २-२ को बराबरीमा ल्याए । 

दुई मिनेटपछि मिगेल गुटीएरेजले गोल गर्दा जिरोना ३-२ ले अघि बढ्यो । ७५औं मिनेटमा पोर्टुले गोल गर्दै जिरोनालाई ४-२ को जित दिलाए  ।

रियालले शनिबार नै भएको खेलमा काडिजविरुद्ध ३-० को जित हासिल गर्यो। रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङघम र जोसेलुले एक एक गोल गरे ।

रियाल ३६औं पटक स्पेनिस लिग च्याम्पियन बनेको हो ।