सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता

मनास्लु र बलर्स च्याम्पियन

काठमाडौं । मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गर्ल्सतर्फ च्याम्पियन बनेका हुन्  ।

घट्टेकुलोस्थित आयोजक सूर्योदय माविको कोर्टमा बुधबार भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई १७-१६ को साँघुरोअन्तरले पराजित गरेको हो । उपाधिसंगै मनास्लुले १५ हजार तथा बलर्सले १० हजार रुपैयाँ प्राप्त गरे । टाइम आउट तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा बलर्सले आइएसए नेपाललाई अत्तिरिक्त समयमा १२-११ ले हरायो । निर्धारित समयको खेल १०-१० को बराबरीमा टुंगिएको थियो । बलर्सले १० हजार तथा आईएसएले ५ हजार नगद पुरस्कार पाए । टिभ्सले तेश्रो स्थान हासिल गर्यो ।

ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ सय प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । सहभागी टिमका प्रत्येक खेलाडीलाई पनि २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

 ब्वाइजमा मनास्लुका निरन लामा र गर्ल्समा बलर्सकी पेम्बा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए । दुवैले १ सय प्रतिशत छात्रवृत्ति पाउने छन् ।

विजेतालाई राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, सूर्योदय एडुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमी (पीएचसीएए) का प्रबन्ध निर्देशक सुशिल थापा लगायलते पुरस्कृत गरे । सो अवसरमा सूर्योदयले सदिनालाई १५ हजार नगदसहित सम्मान गरेको थियो ।

 दुई दिने प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गर्ल्सतर्फ १२ टोली सहभागी थिए ।