आइसिसी एकदिवसीय विश्वकप छनोट

वेस्ट इन्डिजले ओमानलाई हरायो

काठमाडौं । वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा ओमानमाथि ७ विकेटको सहज जित निकालेको छ ।

यससँगै सुपर सिक्समा पहिलो जित निकालेको वेस्ट इन्डिजले ४ खेलमा २ अंक जोडेको छ । पराजय ब्यहोरेको ओमान ५ खेलमा अंकविहिन बन्यो । यसअघि नै दुवै टोलीको विश्वकप छनोट सम्भावना समाप्त भइसकेको थियो ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा ओमानले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य वेस्ट इन्डिजले ३९.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

वेस्ट इन्डिजका लागि ब्रेन्डन किंगले १ सय ४ बलमा १५ चौकाको मद्दतमा सर्वाधिक १ सय रन बनाए । यसैगरी  कप्तान साइ होपले ६५ बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ६३, केयसी कार्टीले २९ र निकोलस पुरनले अविजित १९ रन जोडे ।

किंगले तेस्रो विकेटका लागि होपसँग ९६ र दोस्रो विकेटका लागि कार्थीसँग ८० रनको साझेदारी गरे ।

ओमानका लागि बिलाल खान र कालीमुल्लाहले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि सुरज कुमारले ६५ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५३ रनको योगदान गरे । यसैगरी सोयब खानले ५४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५०, काश्यप प्रजापतीले ३१, आयन खानले ३० र मोहम्मद नदिमले २० रन जोडे ।

सातौं विकेटका लागि सुरज र सोयबले ८५ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि रोमारियो सेफर्डले ३, कायल मायर्सले २ र केभिन सिनक्लियरले १ विकेट लिए ।